ओखलढुंगा, १८ चैत । नेकपा एमाले ओखलढुंगाका जिल्ला कमिटी सदस्य सीताराम दाहालसहित ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्ने अन्यमा एमाले सिद्धिचरण नगरपालिका ३ नं वडा कमिटी सचिव एकबल्लभ दाहाल, सह सचिव अस्बिन दाहाललगायतका नेताहरु रहेका छन् ।
आज कांग्रेस पार्टी कार्यालय रामबजारमा आयोजित एक कार्यक्रमको बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार र कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालले नवप्रवेशीलाई स्वागत गरेका थिए । एमालेका वडा कमिटी सदस्यहरु निर्माण दाहाल, मिना कुमारी खत्री धर्मप्रसाद दाहाल, लोकबहादुर खत्री, मनीस दाहाल, राधा सुवेदी, हिमला खत्री, भिमबहादुर खत्री, अनिल भुजेल, नरबहादुर भुजेल, पूर्णबहादुर भुजेललगायत नेताहरु प्रवेश गरेको ओखलढुंगा कांग्रेसले जनाएको छ ।
चुनावको मुखैमा जिल्ला कमिटी सदस्यसहित ४५ जना कांग्रेस प्रवेश गरेपछि एमाले ओखलढुंगालाई धक्का लागेको छ । नवप्रवेशी दाहाललाई कांग्रेसले जिल्ला सदस्यको जिम्मेवारी दिएको छ । जिल्लामा कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ चलाएपछि प्रवेशको लहर चलेको छ ।